"Don't waste your valuable time for nothing."

Sunday, November 17, 2013

नेपालको दोस्रो जित, केन्या ६ विकेटले पराजित

काठमाडौ, मंसिर १ - सुबास खकुरेल र पारस खड्काको अर्धशतकसँगै नेपालले ट्वान्टी ट्वान्टी विश्वकप छनाैटको दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको केन्यालाई ६ विकेटले पराजित गरेको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई तीन पटक विश्वकप प्रतियोगितामा सहभागी भइसकेको केन्याले एकसय ८३ रनको लक्ष्य दिएको थियो । जितसँगै आगामी बर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप खेल्ने नेपालको सम्भावना बलियो बनेको छ । अघिल्लो खेलमा व्याटिङ नचलेर चिन्तित नेपाली टोलीका लागि यो ठूलो चुनौति थियो । तर, नेपालको व्याटिङले गति लिएपछि खेल सहज बन्यो । ६ चौकाको मद्दतले खकुरेलले ५४ रन जोड्दा कप्तान खड्काले चार छक्का र तीन चौकासहित त्यति नै रन जोडेपछि नेपालले खेलमा लय समातेको थियो । यसअघि १ रन जोड्नेबित्तिकै प्रदीप ऐरी आउट भएका थिए । टोलीका लागि ज्ञानेन्द्र मल्लले ३२ रन जोडे भने शरद भेषवाकरले  अविजित २३ रन जोडे । प्हिलो ईनिङमा भेषवाकरकै कमजोर बलिङको फाईदा उठाउँदै केन्याले अन्तिम एक ओभरमा ३० रन जोडेको थियो । नेपालविरुद्ध ठूलो स्कोर खडा गर्न केन्याका लागि आरआर पटेलले एकसय ३ रन जोडे । कप्तान खड्काको बलमा आउट हुनुअघि उनले १० छक्का र ५ चौका प्रहार गरी बिस्फोटक खेल देखाए । आजको खेलमा जितेन्द्र मुखिया र बसन्त रेग्मीले २-२ विकेट लिए । हिजो डेनमार्कलाई ५ विकेटले हराएको नेपालको २ जितसँगै २ अंक छ । २००३ को विश्वकपमा सेमीफाईनल यात्रा तय गरेको केन्या नेपालभन्दा बलियो प्रतिद्वन्द्वी मानिए पनि पछिल्लो समय उसको प्रदर्शन निरन्तर खस्किदो छ । केन्याले टिमलाई बलियो बनाउन सन्यास लिइसकेका स्टिभ टिकलोलाई फिर्ता बोलाएको थियो । तर, छनौट प्रतियोगिताको दुवै खेलमा ऊ पराजित छ । १६ राष्ट्र सहभागी छनौट प्रतियोगितामा अन्तिम ६ मा अटाउन सके नेपाल आगामी बर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकपमा सहभागी हुन पाउँनेछ । नेपाललाई कडा चुनौती, केन्याद्वारा १८३ रनको लक्ष्य ट्वान्टी ट्वान्टी विश्वकप छनौटको दोस्रो खेलमा नेपाललाई केन्याले एकसय ८३ रनको ठूलो लक्ष्य दिएको छ । २० ओभरको खेलमा केन्याका लागि आरआर पटेलले सेन्चुरी प्रहार गरेपछि नेपालले कडा चुनौति झेल्नुपरेको हो । प्टेलले १० छक्का र ५ चौका हान्दै नेपालका फिल्डरलाई हैरान बनाए । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि जितेन्द्र मुखिया र बसन्त रेग्मीले २-२ विकेट लिए । कप्तान पारस खड्काले तिनै सेन्चुरी प्रहार गर्ने मुखियालाई बोल्ड अउट गरे । केन्याका लागि मा उमाले ३७ रनको योगदान दिए । केन्याका प्रारम्भिक व्याट्सम्यानलाई दोस्रो आभरको पहिलो बलमै आउट गरेर सुखद् ईनिङको सुरुवात गरेको नेपालका लागि पटेल टाउको दुखाई बने । केन्याको लक्ष्य भेट्टाउन नेपालले प्रतिओभर औसत ९ भन्दा बढी रनरेट बनाउदै अघि बढ्नुपर्ने हुन्छ । हिजो कमजोर प्रतिद्वन्द्वी मानिएको डेनमार्कविरुद्ध पनि नेपाली व्याटिङ नचलेकाले आजको लक्ष्य नेपालको लागि कडा चुनौति हुनसक्छ । हिजो कप्तान पारस खड्काको बिस्फोटक व्याटिङको मद्दतले नेपालले डेनमार्कलाई ५ विकेटले हराएको थियो ।

नेपालको विजय सुरुआत

यूएई/काठमाडौ, मंसिर १ - सागर पुनको उत्कृष्ट बलिङ र कप्तान पारस खड्काको विस्फोटक ब्याटिङ मदतले नेपालले आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा शुक्रबार गतिलो सुरुआत गरेको छ । नेपालले डेनमार्कविरुद्धको दोस्रो भिडन्तमा पनि शतप्रतिशत नतिजा निकाल्ने क्रममा ५ विकेटको जित दर्ता गर्‍यो । 'हामीले जित निकाले पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौं । तर जितमा खुसी छौं । चाहिएको सुरुआत मिलेको छ,' नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बताए । स्पिनर सागर पुनले ३ विकेट लिएपछि डेनमार्क १९ ओभर ४ बलमा ७९ रनमा समेटियो । पारसले ३४ बलमा ५ छक्का र एक चौका प्रहार गर्दै ४८ रन जोडेपछि नेपालले ८० रनको लक्ष्य ४१ बल बाँकी छँदै पूरा गर्‍यो । नेपालले ५ विकेट क्षतिमा ८० रन बनायो । डेनमार्कले टस जितेर दुबईस्थित एकेडेमीको दुई नम्बर मैदानमा पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो । तर अन्तर्राष्ट्रिय डेब्यु गरेका मिडियम पेस बलर जितेन्द्र मुखियाले २ विकेट लिंदै नेपाललाई गतिलो सुरुआत दिलाए । उनले ३ ओभरमा १६ रन खर्चेका थिए । 'उनको डेब्यु उत्कृष्ट रह्यो,' पारसले जितेन्द्रको प्रशंसा गरे,'उनले चाहिएको बेलामा टिमलाई विकेट दिलाए ।' दोस्रो ट्वान्टी-ट्वान्टी खेलिरहेका सागरलाई पारसले १५ औं ओभरमा बल दिए । सागरले आफूले गरेका तीनै ओभरमा एक/एक विकेट लिए । उनले ३ ओभरमा १२ रन खर्चे । वसन्त रेग्मीले २ ओभर ४ बलमै २ विकेट हात पारे । पारसको नाममा एक विकेट रह्यो । नेपालको सुरुआती ब्याटिङ भने खराब रह्यो । नेपालले शून्य रनमै दुई विकेट गुमायो । पहिले इनिङ्सको चौथो बलमा प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी पेभेलियन फर्के भने त्यसपछि क्रिजमा पुगेका ज्ञानेन्द्र मल्ल अफताब अहमदको बलमा आउट भए । अर्का प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल र पारस मिलेर तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गर्दै टिमको जितको आधार तय गरे । सुवास १७ रनमा आउट भए । त्यसपछि आएका विनोद भण्डारी पनि शून्यमै आउट भए । 'बलिङ र फिल्डिङ जति राम्रो भएको थियो, हामी ब्याटिङमा चल्न सकेनौं । यसलाई सुधार गर्नुपर्छ,' पारसले भने । शरद भेषवाकर नटआउट ५ र सागर नटआउट २ रनमा रहे । ब्याटिङमा समस्या भएको पुबुदुले बताए । 'बलिङमा राम्रो रह्यो । तर ब्याटिङमा भने कमजोरी देखियो,' उनले भने, 'तर हाम्रा खेलाडीमा क्षमता छ, तर आत्मविश्वासको खाँचो छ ।' उनले पारस र सुवासले इनिङ्सलाई अघि बढाएको प्रस्ट्याउँदै भने, 'हामी नेट रनरेटलाई पनि ध्यान दिएर खेलिरहेका छौं ।' नेपाल र केन्या भिड्दै टिमको इतिहास बलियो छ, खेलाडी नाम चलेका छन् तर मैदानमा खेल्न सक्दैनन् भने त्यसको केही अर्थ रहन्न । नेपाली कप्तान पारस खड्का यसै भन्छन् । उनले भने,'हामीले जति कुरा गरे पनि सबैभन्दा महत्त्वपूर्ण भनेको मैदानमा गएर खेल्नु नै पर्छ । विपक्षी टिम कमजोर छ भन्दैमा जित निकाल्न सकिन्छ भन्ने छैन ।' नेपालले ट्वान्टी-ट्वान्टी विश्वकप छनोटको दोस्रो खेलमा शनिबार केन्याको सामना गर्दैछ । इतिहास र खेलाडीलाई हेर्ने हो भने केन्या नेपालभन्दा धेरै माथिको टिम हो । तर सन् १९९६ र १९९९ मा विश्वकप खेलेको केन्याले सन् २००३ को विश्वकपमा त सेमिफाइनलकै यात्रा गरेर सनसनी मच्चाइसकेको छ । तीनपल्ट विश्वकप खेलेको टिम र त्यसमा पनि स्टिभ टिकलो जस्ता चर्चित खेलाडीको उपस्थितिले केन्यालाई बलियो टिमका रूपमा प्रस्तुत गरेको छ । टिम बलियो बनाउन केन्याले संन्यास लिइसकेका ४२ वर्षीय टिकलोलाई फेरि बोलाएको हो । टिकलो अनुभवी खेलाडी त हुन् नै उनमा विश्वकप खेलेको पनि अनुभव छ । उनले पपुवा न्युगिनीविरुद्धको खेलमा १९ बलमा ३० रन बनाउँदै आफ्नो बलियो उपस्थितिको जनाउ गरिसकेका छन् । तर केन्याले खेल भने ४ विकेटले गुमायो । त्यसैले केन्याको मनोबल गिरेको पनि छ । उसले १ सय ७७ रनको लक्ष्यलाई जोगाउन सकेन । तर पारसले भने जस्तै केन्यालाई नेपालसँग खेल्दा सहज छैन । केन्याको इतिहास राम्रो छ तर नेपालको ऊमाथिको वर्तमान । डेनमार्कमाथिको ५ विकेटको जितले नेपाली टिममा आत्मविश्वास बढेको छ । 'डेनमार्कविरुद्ध बलिङ र फिल्डिङमा राम्रो भए पनि ब्याटिङमा सोचे जस्तो भएन,' पारसले भने,'तर केन्याविरुद्धको खेलमा कमजोर पक्षलाई उधार्ने योजनामा छौं ।' केन्याविरुद्ध पनि जितलाई निरन्तरता दिने मुख्य प्रशिक्षक पुबुदु दसानायकेले बताए । उनले भने,'केन्या अनुभवी र बलियो टिम हो । तर हामी पनि आत्मविश्वासी छौं । डेनमार्कविरुद्ध भएको गल्तीलाई सच्याउनेछौं ।' यसअघि नेपाल र केन्या अघिल्लो संस्करणको यही ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा भिडेका थिए । त्यसबेला यी दुई टिम सातौं स्थानको प्ले-अफका लागि भिडेका थिए । बाजी भने नेपालले ५ विकेटले मारेको थियो । वसन्त रेग्मीले ३ विकेट लिएपछि पहिले ब्याटिङ गरेको केन्याले ४ विकेट क्षतिमा १ सय ३९ रन बनाएको थियो । जवाफमा अनिल मण्डलको ३२, प्रदीप ऐरीको ४५ र कप्तान पारसको नटआउट २६ रनमा नेपालले २ बल बाँकी छँदा ५ विकेट क्षतिमा जित निकाल्यो । नेपालले त्यसबेला नै केन्याको विश्वकप खेलेको इतिहासलाई इतिहास बनाइदिएको थियो । दोस्रोपल्ट फेरि त्यही प्रतियोगितामा आमनेआमने हुँदा नेपालको लक्ष्य केन्यालाई त्यसैगरी निराश पार्दै छनोटतर्फ अघि बढ्ने हुनेछ ।